एमालेले ईश्वर पोखरेललाई नीति तथा अनुसन्धान प्रतिष्ठानको प्रमुखबाट हटायो

139 Shares

काठमाडौं । नेकपा एमालेले पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठानको प्रमुखको जिम्मेवारीबाट ईश्वर पोखरेललाई हटाएको छ।

च्यासलमा बसेको सचिवालय बैठकले पोखरेलको स्थानमा विष्णु रिमाललाई प्रतिष्ठानको प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो। अध्यक्ष केपी शर्मा ओलीले पोखरेलले नेतृत्व गर्दै आएको प्रतिष्ठानको जिम्मेवारी रिमाललाई दिने प्रस्ताव बैठकमा पेस गरेका थिए।

बैठकमा अध्यक्ष ओलीले, “विष्णु रिमाल योग्य व्यक्ति हुन्, तर चुनाव हार्नुभएको छ। उहाँलाई जिम्मेवारी दिनुपर्छ, त्यसै राख्न मिल्दैन,” भन्दै प्रस्ताव अघि सारेका थिए।

विष्णु रिमाल ११औँ महाधिवेशनमा उपमहासचिव पदका उम्मेदवार थिए। तर उनी केन्द्रीय सदस्यमा समेत पराजित भएका थिए। केन्द्रीय सदस्यमा पराजित भएपछि उनलाई ईश्वर पोखरेलले नेतृत्व गर्दै आएको प्रतिष्ठानको जिम्मेवारी दिइएको हो।

यद्यपि पोखरेललाई जिम्मेवारीबाट हटाउने प्रस्तावमा सचिवालयका केही पदाधिकारीले असहमति जनाएका थिए। उनीहरूले महाधिवेशन भर्खरै सम्पन्न भएको र निर्वाचन नजिकिँदै गएको सन्दर्भमा पार्टीलाई एकताबद्ध बनाउन यस्तो निर्णय उपयुक्त नहुने धारणा राखेका थिए।

तर अध्यक्ष ओली आफ्नो प्रस्तावमा अडिग रहेपछि अन्ततः पोखरेललाई हटाएर रिमाललाई जिम्मेवारी दिने निर्णय भएको स्रोतले जनाएको छ।