एमालेले राष्ट्रिय सभाका ७ सिटमा दाबी, उम्मेदवार टुंगो लाग्ने प्रक्रिया जारी

134 Shares

काठमाडौं । नेकपा एमालेले आगामी माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि ७ सिटमा आफ्नो दाबी पेश गरेको छ।

सोमबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले उपमहासचिव लेखराज भट्टले हरेक प्रदेशबाट एक–एक जना गरी ७ सिटमा पार्टीको दाबी रहेको जानकारी दिनुभयो।

यद्यपि उम्मेदवार टुंगो लगाउने काम अझै बाँकी रहेको उनले बताउनुभयो। उनका अनुसार बाँकी नाम टुंगो लगाउन अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारी दिइएको छ र कांग्रेस सभापति शेरबहादुर देउवासँग थप छलफल गरी अन्तिम निर्णय गर्ने व्यवस्था गरिएको छ।

भट्टले भन्नुभयो, “हरेक प्रदेशमा एक जना पर्नेगरी हामीले सात जनाको सूची बनाएका छौं। तर कुन प्रदेशमा महिला उम्मेदवार हुने भन्ने टुंगो लागिसकेको छैन। अध्यक्षले छलफलपछि अन्तिम निर्णय गर्नुहुनेछ।”

उनका अनुसार हाल एमाले र कांग्रेसबीच राष्ट्रिय सभामा संयुक्त रूपमा जाने सहमति भएको छ। बाँकी नाम टुंगो लाग्न कांग्रेस सभापतिसँगको छलफलपछि निर्णय हुनेछ।