एमाले अध्यक्ष ओलीले जाँचबुझ आयोगलाई दिएका बयानका मुख्य बुँदा सार्वजनिक

139 Shares

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीले २३ र २४ भदौ घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगलाई दिएका बयानका मुख्य बुँदाहरू सार्वजनिक गरेका छन्।

ओलीले आइतबार आयोगलाई बयान दिएका थिए। आयोगका अधिकारीहरू गुण्डुस्थित ओलीकै निवासमा पुगेका थिए। बस्नेतले सामाजिक सञ्जालमार्फत आयोगलाई दिइएका मुख्य ६ बुँदा यसरी सार्वजनिक गरेका छन्:

  1. २२ भदौको बेलुका राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा आन्दोलन शान्तिपूर्ण हुने, बल प्रयोग नगर्ने र युवा–विद्यार्थीलाई सहयोग गर्ने विषयमा छलफल भएको।

  2. आन्दोलनमा घुसपैठ र अराजक समूह प्रवेश भएको कुरा आन्दोलनमा संलग्न युवाहरूले नै स्वीकार गरिसकेको।

  3. आन्दोलन गर्ने अधिकांश व्यक्ति जेनजी पुस्ताका नभएको कुरा तत्कालीन फोटो र भिडियोहरूले प्रस्ट देखाएको।

  4. २३ भदौमा तोडफोड र अचानक गोली प्रहार सुरु भएपछि गृहमन्त्रीसहित सबै सुरक्षा प्रमुखसँग छलफल गरी छानबिन समिति गठन गर्ने निर्णय गरिएको।

  5. २४ भदौको अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गर्न चाहिएको भए पनि त्यो सम्भव हुन नसकेको।

  6. गौरीबहादुर कार्कीले घटनाकै दिन र त्यसअघि–पछि सामाजिक सञ्जालमा धारणा सार्वजनिक गरिसकेकाले निष्पक्ष प्रतिवेदन आउनेमा आशंका रहेको।