विशेष महाधिवेशनको माग गर्दै कांग्रेस कार्यकर्ताद्वारा सानेपा घेराउ

158 Shares

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै आएका पक्षधरहरूले पार्टी केन्द्रीय कार्यालय सानेपा घेराउ गरेका छन्।

पार्टीको नियमित १५औँ महाधिवेशनको कार्यतालिका अघि बढ्न नसकेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशनको तयारी तीव्र पारिएको छ। विधानको धारा १७(२) अनुसार ५४ प्रतिशतभन्दा बढी, अर्थात् २ हजार ४ सय ८८ जना महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएको तीन महिना पुग्न लाग्दा पनि केन्द्रीय नेतृत्वले कुनै निर्णय नगरेको भन्दै पक्षधरहरू आक्रोशित बनेका हुन्।

विशेष महाधिवेशन पक्षधर कार्यकर्ताहरूले केन्द्रीय कार्यालय घेराउ गर्दै नाराबाजी गरेका थिए। उनीहरूले भृकुटीमण्डपमा हल बुकिङ गरी यही पुस मसान्तभित्र विशेष महाधिवेशन गर्ने तयारीसमेत गरेको बताएका छन्।

यसबीच संस्थापन पक्षले भने नियमित महाधिवेशनलाई आगामी वैशाखमा सारेर अघि बढ्ने निर्णय गरेको छ। कांग्रेसभित्र चर्किँदो आन्तरिक विवादले आगामी फागुनमा हुने संसदीय निर्वाचनलाई समेत प्रभावित पार्ने देखिएको छ।

पार्टी एकता कायम राख्न विभिन्न तहमा छलफल जारी रहे पनि हालसम्म सहमति जुट्न सकेको छैन।