काठमाडौं । देशभर नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भइरहँदा मञ्जु शर्मा चालिसे एकल नाम सिफारिसमा पर्ने एक्ली महिला बनेकी छन्।
पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ निर्वाचन क्षेत्रमा एकमात्र उम्मेदवार सिफारिस गरिएको छ, जसमा मञ्जु बाहेक सबै पुरुष नेताहरू रहेका छन्। एमाले केन्द्रीय सदस्यसमेत रहेकी चालिसे बागलुङ निर्वाचन क्षेत्र नम्बर २ बाट एकल सिफारिसमा परेकी हुन्।
एमाले क्षेत्रीय समन्वय कमिटी–२ को बैठकले चालिसेको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो। क्षेत्रीय समन्वय कमिटीका संयोजक तथा जिल्ला उपसचिव करमती पुनको अध्यक्षतामा बसेको बैठकले उम्मेदवारीका दावेदारहरूसँग परामर्शपछि चालिसेको नाम एकल रूपमा सिफारिस गरेको जनाएको छ।
चालिसे २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट एमालेको उम्मेदवार बनेकी थिइन्। उक्त निर्वाचनमा उनी तत्कालीन गठबन्धनका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका साझा उम्मेदवार देवेन्द्र पौडेलसँग थोरै मतान्तरले पराजित भएकी थिइन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया