काठमाडाैं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा अहिले जारी रहेको छ।
महाधिवेशनसम्बन्धी विवाद चर्किरहेका बेला बोलाइएको यस बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ। यसअघि बिहीबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशनको कार्यतालिका स्थगित गरिएको घोषणा गरेका थिए। उनीहरूले विशेष महाधिवेशनको विकल्प अघि सारेपछि पार्टीभित्र तनाव बढेको छ।
यही सन्दर्भमा सभापति शेरबहादुर देउवा पक्षबाट कार्यसम्पादन समिति बैठक बोलाइएको हो। बैठकअघि दुवै पक्षका नेताहरूबीच आन्तरिक छलफलसमेत भएको थियो। संस्थापन पक्षले महामन्त्रीहरूको निर्णयलाई व्यक्तिगत भन्दै आलोचना गरेको छ।
त्यसैगरी, विशेष महाधिवेशन पक्षधरहरूले विधानको रक्षा गर्न विशेष महाधिवेशन आवश्यक रहेको तर्क अघि सारिरहेका छन्।
बैठकमा नियमित महाधिवेशनको कार्यतालिका, विशेष महाधिवेशनको सम्भावना तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ। पार्टीभित्र देखिएको यो विवादले आगामी निर्वाचनअघि कांग्रेसको नेतृत्व र राजनीतिक रणनीतिमा प्रभाव पार्ने देखिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया