काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ४ विदेशीसहित ४० संस्थाले निर्वाचन पर्यवेक्षण गर्ने अनुमति पाएका छन्।
निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को पर्यवेक्षणका लागि राष्ट्रियस्तरका ३६ र अन्तर्राष्ट्रियस्तरका ४ संस्था गरी जम्मा ४० संस्थालाई अनुमति दिइएको हो।
बुधबार मात्रै आयोगले थप ९ संस्थालाई निर्वाचन पर्यवेक्षणको अनुमति दिएको छ। अनुमति पाउने संस्थामा गरिब तथा दलित उत्थान सेवा समिति डोल्पा, जनसरोकार मञ्च नेपाल, दिगो ग्रामीण विकास केन्द्र, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, मस्वसित नेपाल, नेपाल जनप्रशासन संघ र नेपाल कानून समाज रहेका छन्। यससँगै अनुमति प्राप्त संस्थाको संख्या ४० पुगेको हो।
अनुमति पाएका राष्ट्रिय पर्यवेक्षक संस्थालाई आयोगले अभिमुखीकरण प्रदान गर्ने र ती संस्थाबाट खटाइने पर्यवेक्षकहरूलाई परिचयपत्र उपलब्ध गराउने जनाएको छ।
निर्वाचन तालिका अनुसार समानुपातिक तर्फको बन्दसूची बुझाउने कार्य सम्पन्न भइसकेको छ भने हाल आयोगले बन्दसूचीमाथि छानबिन प्रक्रिया जारी राखेको छ। आवश्यक परेमा कलस्टर मिलाउन सम्बन्धित दललाई पत्राचार गरिने र दलहरूले पुस २७ गतेसम्म संशोधन गर्न पाउनेछन्।
पुस २८ गते उम्मेदवारले बन्दसूचीबाट नाम फिर्ता लिन सक्नेछन् भने नाम फिर्ता भएको जानकारी आयोगले पुस २९ गते सम्बन्धित दललाई दिने कार्यतालिका छ। रिक्त स्थानमा सोही समूहका अर्को उम्मेदवार मनोनयन गरी दलहरूले पुस ३० गतेसम्म आयोगमा विवरण पेश गर्नुपर्नेछ।
आयोगको कार्यतालिका अनुसार माघ ४ गते उम्मेदवारको बन्दसूची प्रकाशन हुनेछ। त्यसपछि माघ ५ देखि १० गतेसम्म दावी–विरोध गर्न सकिनेछ। दावी–विरोधमाथि माघ ११ देखि १७ गतेसम्म जाँचबुझ गरी निर्णय गरिनेछ।
अन्ततः माघ २० गते उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन हुने आयोगले जनाएको छ।
निर्वाचन आयोगका अनुसार फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया