देशमा तोकिएकै मितिमा निर्वाचन हुने अवस्था बनेको दावी : प्रधानमन्त्री कार्की

209 Shares

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले देशमा तोकिएकै मितिमा निर्वाचन हुने दावी गर्नुभएकाे छ।

काठमाडाैंमा बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे दावी गर्नुभएकाे हाे। राजनीतिक दल र युवा पुस्ताबीचको निरन्तर संवादले मुलुक तोकिएकै मितिमा निर्वाचन हुने अवस्था पुगेको उहाँको भनाइ छ। प्रधानमन्त्री कार्कीले निर्वाचन सम्पन्न हुने अवस्थामा मुलुकलाई पुर्‍याउन योगदान दिएको भन्दै राजनीतिक दल र निर्वाचन आयोग लगायतप्रति आभार समेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो,-‘मुलतः शुसाननको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्न यो सरकार गठन भएको सबैलाई विदितै छ । सरकार, राजनीतिक दल तथा युवाहरुसँग निरन्तर संवाद र सहयोगमा तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा पनि हामी पुगेका छौ । यसका लागि म सम्पूर्ण राजनीतिक दल र निर्वाचन आयोगल गायतका सरोकारवालाहरुप्रति हामी आभारी छौं । नेपालको राजनीतिमा ७५ वर्षमा आधा दर्जन जति परिवर्तनकारी राजनीतिक आन्दोलन भए । यस अवधिमा अन्तरिम सहित ५ पटक संविधान नयाँ बने । तर तत्कालीन समयमा उत्कृष्ट मानिएका धेरै राजनीतिक परिवर्तन पनि दिगो हुन सकेन । किन भने यी राजनीतिक परिवर्तनले समयानूकूल आम नागरिक जीविकामा सुधार गर्न सकेन । पेशा, व्यवसाय र रोजगारीका अवसर पर्याप्त भएन । हाम्रा आचरण र व्यवहार पनि न्यायपूर्ण हुन सकेन । परिणाम त नागरिकममा निराशा विष्फोटमा परिणत हुन पुग्यो ।’

प्रधानमन्त्री कार्कीले जनताका निराशालाई सम्बोधन गर्न नसक्दा मुलुक विभिन्न संकटको चपेटामा फस्ने गरेको उल्लेख गर्दै त्यसलाई चिरेर अघि बढ्नुपर्ने बताउनुभयो।