काठमाडाैं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ ६४ वटा राजनीतिक दलले ५८ वटा निर्वाचन चिह्नमा चुनाव लड्ने भएका छन्।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ती दलहरूले ५८ वटा चुनाव चिह्न प्रयोग गर्दै समानुपातिकतर्फको बन्दसूची पेश गरेका हुन्। आयोगले निर्धारण गरेको निर्वाचन कार्यक्रमअनुसार पुस १३ र १४ गते बन्दसूची पेश गर्ने कार्यतालिका तोकिएको थियो।
बन्दसूची पेश गर्ने ६४ राजनीतिक दलमध्ये ५४ वटा दलले आ–आफ्नै निर्वाचन चिह्नमा र १० वटा दलले ४ वटा एकल (संयुक्त) निर्वाचन चिह्नमा निर्वाचनमा सहभागी हुने गरी बन्दसूची पेश गरेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो।
समानुपातिक निर्वाचन प्रणालीतर्फ १ सय १० जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ। नेपालको संविधानको धारा ८४ को उपधारा १(क) अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट १ सय ६५ जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुने प्रावधान छ।
त्यस्तै, सोही धाराको उपधारा १(ख) अनुसार सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणालीमार्फत १ सय १० जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ।





फेसबुकबाट तपाईको प्रतिक्रिया