काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अनिलकुमार सिन्हाले पर्यटन क्षेत्रलाई उद्योगको रूपमा मान्यता दिइए पनि उद्योगसरहका सुविधा भने नदिइएको स्वीकार गर्नुभएको छ।
सिंहदरबारमा सोमबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री सिन्हाले औद्योगिक व्यवसाय ऐनअनुसार उद्योगले पाउने सुविधा पर्यटन उद्योगले हालको कानुनबाट नपाएको उल्लेख गर्नुभयो। पर्यटन क्षेत्रलाई सहज र प्रतिस्पर्धी बनाउन कानुनी सुधार आवश्यक रहेको उहाँको जोड थियो।
मन्त्री सिन्हाले हाल ८० प्रतिशतभन्दा बढी आन्तरिक पर्यटकका कारण होटलहरू भरिभराउ रहेको जानकारी दिँदै आन्तरिक पर्यटनलाई थप सुविधाजनक बनाइए यसमा अझ वृद्धि हुने बताउनुभयो। साथै पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटनमा हुने खर्चमा कर छुटको माग गर्दै आएको पनि उहाँले जानकारी दिनुभयो।
पर्यटन क्षेत्रका विद्यमान समस्या समाधान गर्न मन्त्रालयले एकीकृत विधेयक ल्याउने तयारी गरिरहेको मन्त्री सिन्हाले बताउनुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया