काठमाडौँ । सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार उत्साहजनक वृद्धि देखिएको छ।
आइतबार नेप्से ४७.५५ अंकले बढेर २,६३३.४२ विन्दुमा पुगेर बन्द भएको हो। यो अघिल्लो कारोबार दिनको तुलनामा १.८३ प्रतिशतको वृद्धि हो।
बजारमा ३२८ कम्पनीका १ करोड ३४ लाख कित्ता सेयर ८९ हजार २५१ पटक किनबेच हुँदा कुल ५ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
कारोबारमा अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ। कुल सूचीकृत कम्पनीमध्ये २३८ कम्पनीको सेयर मूल्य बढेको छ भने २१ कम्पनीको मूल्य घटेको छ। बाँकी कम्पनीहरूको मूल्य स्थिर रहेको छैन।
सबै समूहका परिसूचकहरू बढेका छन्। डेभलपमेन्ट बैंक र फाइनान्स समूह २ प्रतिशतभन्दा बढीले बढेका छन् भने म्युचुअल फण्ड र ट्रेडिङ बाहेक सबै समूहमा १ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ।
आजको कारोबारमा जलविद्युत कम्पनीहरूको वर्चस्व देखिएको छ। मिड सोलु हाइड्रोपावरको सेयर मूल्य ९.४९ प्रतिशत, जोशी हाइड्रोपावरको ६.९७ प्रतिशत, अपर स्याङ्गे हाइड्रोपावरको ६.५२ प्रतिशत र रुरु जलविद्युतको ५.१६ प्रतिशत ले बढेको छ।
बजार समग्र रूपमा बढे पनि विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने १० प्रतिशत गिरावट आउँदै नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा अपर नेपाल हाइड्रोपावर अग्रस्थानमा रहेको छ। उक्त कम्पनीको २७ करोड ६० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। त्यसपछि मञ्जुश्री फाइनान्सको २४ करोड ८९ लाख रुपैयाँ र सिनर्जी पावरको २२ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया