उपसभामुख मगरको संसद सचिवालयसँग औपचारिक बिदाइ

194 Shares

काठमाडाैं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगर संघीय संसद सचिवालयबाट बिदा भएकी छन्।

संसद सचिवालयका अनुसार उपसभामुख मगरले आइतबार संघीय संसद सचिवालयमा रहेको आफ्नो निजी सचिवालयका सामग्रीसहित आफूले प्रयोग गर्दै आएको सरकारी गाडी बुझाएर कार्यालय छोडेकी हुन्।

संविधानमा प्रतिनिधिसभा विघटन भएको अवस्थामा अर्को निर्वाचनका लागि उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिन सभामुख र उपसभामुखको कार्यकाल समाप्त हुने व्यवस्था छ। तर, उम्मेदवारी दाखिला गर्ने दिन कुनलाई मान्ने भन्ने विषयमा संविधानमा स्पष्ट व्यवस्था नभएकाले विवाद देखिएको छ।

समानुपातिक प्रणालीतर्फको बन्द सूची बुझाउने अघिल्लो दिन मान्ने कि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन मान्ने भन्ने विषयमा मतभेद देखिएको हो। यसैबीच, सभामुख देवराज घिमिरेले भने प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिनमै पद छोड्ने जानकारी दिएको उहाँको सचिवालयले जनाएको छ।

निर्वाचन आयोगले समानुपातिकतर्फको बन्द सूची बुझाउने मिति पुस १३ र १४ गते तोकेको छ भने प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने मिति आगामी माघ ६ गतेका लागि निर्धारण गरेको छ।

indira.webp