काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न आग्रह गरेका छन्। पूर्वअध्यक्ष कमल थापा पुनः पार्टीमा फर्किने निश्चित भएको उल्लेख गर्दै उनले संगठन सुदृढीकरणका लागि सबैलाई एकजुट हुन आह्वान गरेका हुन्।
राप्रपा मोरङ जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले झोकाझोकमै पार्टी छाडेका कमल थापासँग पुनः संवाद गरेर घर फर्काउने सहमति भएको बताए।
“कमल दाइ झोकाझोकमै पार्टी छाडेर हिँड्नुभएको थियो। अहिले कुराकानी गर्यौं, घर फर्कने टुंगो भएको छ,” उनले भने, “उहाँ फर्किनुहुन्छ, अरु साथीहरू पनि रिसाएर बाहिर बस्नुभएको छ भने आउनुहोस्।”
अध्यक्ष लिङ्देनले पार्टीभित्रको आन्तरिक कलहले संगठन कमजोर बनाउने चेतावनी दिँदै आपसी झगडामा अल्झिए भविष्य अन्धकार हुने बताए।
“हामी जे–जति छौँ, आपसमै लडेर बस्ने हो भने भोलि कसैले पत्याउने मात्र होइन, मर्दा झण्डा ओढाउने मान्छे पनि हुँदैन,” उनले भने, “चुनाव जित्ने र आन्दोलन सफल बनाउने कुरा त झन् टाढाको विषय बन्छ।”
उनले राजसंस्था पुनःस्थापना, हिन्दु राष्ट्र र संघीयता खारेजीको पक्षमा रहेका सबै शक्तिहरूलाई राप्रपामा गोलबन्द हुन आग्रह गरे।
“अब राजा चाहिन्छ, हिन्दु राष्ट्र चाहिन्छ र संघीयता चाहिँदैन भन्नेहरूको साझा घर राप्रपा हो,” अध्यक्ष लिङ्देनले भने, “आफ्नै जीवनकालमा देश बनेको देख्न चाहने हो भने राप्रपामा जोडिनुको विकल्प छैन।”
केन्द्रदेखि स्थानीय तहसम्म पार्टीलाई एकढिक्का बनाउने अभियान सुरु भएको जानकारी दिँदै उनले समान विचार र धारणा भएका शक्तिहरूलाई एकताबद्ध गर्ने कार्य तीव्र बनाइएको पनि बताए।
फेसबुकबाट तपाईको प्रतिक्रिया