आज र भोलि समानुपातिक निर्वाचनतर्फ बन्द सूची पेस गर्ने अवधि

210 Shares

काठमाडाैं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्न आजदेखि राजनीतिक दलहरूका लागि प्रक्रिया सुरु भएको छ। निर्वाचन आयोगले सबै आवश्यक तयारी पूरा भएको जनाएको छ।

आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार राजनीतिक दलहरूले आज र भोलि समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आयोगमा पेस गर्नुपर्नेछ।

पेस गरिएका बन्द सूचीहरूको छानबिन आयोगले पुस १५ गतेदेखि २० गतेसम्म गर्नेछ। छानबिनपछि पुस २१ गतेदेखि २७ गतेसम्म दललाई आवश्यक सच्याउने तथा मिलाउने अवसर प्रदान गरिने आयोगले जनाएको छ।

यसपछि पुस २८ गतेदेखि माघ ३ गतेसम्म मिलाइएको बन्द सूची ठीक छ वा छैन भन्ने विषयमा पुनः परीक्षण गरिनेछ। माघ ४ गते बन्द सूची सार्वजनिक गरिनेछ भने माघ २० गते अन्तिम बन्द सूची प्रकाशन गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ।

निर्वाचन आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ सहभागी हुन १०० वटा राजनीतिक दल दर्ता भएका छन्, जसले ९३ वटा चुनाव चिह्न प्रयोग गर्नेछन्। समानुपातिक प्रणालीमा भाग लिन दर्ता भएका दलहरूले मात्र आज र भोलि बन्द सूची पेस गर्न पाउने व्यवस्था छ।