काठमाडाैं । नेकपा एमालेका नेताहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच भएको एकताले खासै अर्थ नराख्ने टिप्पणी गरेका छन्।
सञ्चारकर्मीसँग कुरा गर्दै एमाले नेताहरूले उक्त एकताले नेपाली राजनीतिको मूल प्रवाहमा ठूलो असर नपार्ने दाबी गरेका हुन्। एमाले नेता मानवीर राईले रास्वपा सभापति रवि लामिछाने र मेयर बालेनको राजनीतिक मिलन वा विमिलनको विशेष अर्थ नरहेको बताए। उनीहरूको राजनीति जनतामा आधारित नदेखिएको भन्दै त्यसले वर्तमान राजनीतिक परिवेशमा खासै महत्व नपाउने उनको दाबी छ।
राईले २०७९ सालको स्थानीय तह निर्वाचनमा बालेन निर्वाचित हुँदा जनतामा ठूलो आशा र अपेक्षा रहे पनि ती अपेक्षा पूरा गर्न नसकेको आरोप लगाए। काठमाडौं महानगरभित्र भइरहेका अधिकांश सडक तथा पूर्वाधार निर्माण कार्य संघीय सरकारअन्तर्गत सडक विभाग र सडक डिभिजनमार्फत भइरहेको भन्दै महानगरले उल्लेखनीय उपलब्धि हासिल गर्न नसकेको उनको भनाइ छ। “विकासका नाममा के गर्नुभयो?” भन्दै उनले प्रश्नसमेत उठाए।
उनले मकै पोलेर जीविकोपार्जन गर्नेहरूलाई लखेट्ने बाहेक उल्लेखनीय काम नगरेको आरोप लगाउँदै विभिन्न राजनीतिक कार्यक्रमहरूमा जरिवाना घोषणा गरेर ‘स्टन्टबाजी’ मात्रै गरिएको टिप्पणी गरे। जेन–जी आन्दोलनका क्रममा भएको आगजनी तथा हिंसात्मक घटनाको समयमा काठमाडौं महानगरले दमकल नपठाएको आरोप लगाउँदै यसले मेयर बालेनको विकास र समृद्धिप्रतिको संवेदनशीलता नदेखाएको दाबी गरे।
चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति हाँस्यास्पद भएको भन्दै राईले २०६४ सालमा नेकपा माओवादीले पुष्पकमल दाहाललाई भावी राष्ट्रपतिको उम्मेदवार घोषणा गरेको प्रसंग स्मरण गराए। “दाहाल राष्ट्रपति बन्नुभयो त?” भन्दै प्रश्न गर्दै उनले बालेन सांसदसमेत बन्न नसक्ने हुन् कि भन्ने आशंका व्यक्त गरे। साथै, रास्वपा सभापति लामिछाने सहकारी ठगी मुद्दामा सबैभन्दा बढी धरौटी बुझाएर छुटेका व्यक्ति भएको आरोप लगाउँदै उनीहरूले जनतामाझ सफलता हासिल गर्न नसक्ने दाबी गरे।
यता, एमाले नेता लालबाबु पण्डितले भने राजनीतिक दलहरू मिल्नु सकारात्मक कुरा भएको बताए। नेपालमा राजनीतिक ध्रुवीकरण आवश्यक रहेको उल्लेख गर्दै उनले हाल देशमा १ सय ५२ भन्दा बढी राजनीतिक दल रहेको र पाँच वटा जति दल भए पर्याप्त हुने धारणा राखे। सीमित दलबीच प्रतिस्पर्धा भई बहुमतको सरकार बने मात्र राजनीतिक स्थायित्व, विकास र समृद्धि सम्भव हुने उनको भनाइ छ।
एमाले कुनै पनि राजनीतिक गठबन्धनसँग प्रतिस्पर्धा गर्न तयार रहेको उल्लेख गर्दै पण्डितले कोही पार्टी मिल्दैमा टाउको दुखाउन आवश्यक नरहेको बताए। “कोही एक भयो भन्दैमा अर्को समाप्त हुन्छ भन्ने बुझाइ गलत हो,” उनले भने।
राष्ट्रिय स्वतन्त्र पार्टी र मेयर बालेनबीच आइतबार बिहान ‘वृहत एकता’ सम्बन्धी सातबुँदे सहमतिमा हस्ताक्षर भएको थियो। सहमतिअनुसार निर्वाचनपछि बालेन संसदीय दलको नेता बन्नेछन् भने रवि लामिछाने पार्टी सभापतिकै रूपमा रहनेछन्। पार्टी संरचना भने सम्पूर्ण रूपमा रास्वपाकै रहने सहमतिमा उल्लेख छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया