काठमाडाैं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच भएको एकतालाई अन्यथा लिन नहुने बताएका छन्।
आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव भट्टराईले एजेण्डा मिल्दा राजनीतिक दलहरू एक हुने र नमिल्दा छुट्टिने प्रक्रिया लोकतन्त्रको स्वाभाविक पक्ष भएको उल्लेख गरे। लोकतान्त्रिक प्रणालीमा दलहरूबीच एकीकरण र विभाजन हुनु अनौठो विषय नभएको उनको भनाइ छ।
उनले आगामी निर्वाचनलाई लक्षित गर्दै रास्वपा र मेयर शाहले एकताको घोषणा गरेको बताए। नेपालको लोकतान्त्रिक प्रक्रिया पारदर्शी र स्वच्छ बनाउन, खण्डित भएको संवैधानिक प्रक्रियालाई सही मार्गमा ल्याउन तथा स्थायी शान्तिमार्फत दिगो विकासका योजनाहरू अघि बढाउन राजनीतिक प्रतिस्पर्धामार्फत श्रेष्ठता हासिल गर्नुपर्नेमा उनले जोड दिए।
यसका लागि नेकपा एमाले पूर्ण रूपमा तयार रहेको भन्दै उपमहासचिव भट्टराईले पार्टी आगामी निर्वाचनमा बहुमत ल्याउने लक्ष्यसहित तयारीमा जुटेको जानकारी दिए।
भदौ महिनामा भएको जेन–जी आन्दोलन पवित्र उद्देश्यका साथ सुरु भए पनि त्यसलाई रास्वपा र मेयर बालेनले सत्तास्वार्थका लागि हाइज्याक गर्न खोजेको आरोप उनले लगाए। साथै, उनले जेन–जी आन्दोलनका अगुवाहरूलाई सजग रहन आग्रहसमेत गरे।
पार्टीमाथि हाल चौतर्फी आक्रमण भइरहेको उल्लेख गर्दै उपमहासचिव भट्टराईले आन्तरिक एकता सुदृढ बनाउन अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरे। आगामी निर्वाचनको तयारीका लागि पार्टीभित्र रहेका आन्तरिक मतभेदहरू थाँति राखेर सबै एकजुट हुन आवश्यक रहेको उनको भनाइ छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया