काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देशका सबै वैकल्पिक राजनीतिक शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्। सकेसम्म पूर्ण एकता र त्यो सम्भव नभए कार्यगत एकतामार्फत अघि बढ्नुपर्ने उनको धारणा छ।
आज बिहान पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै घिसिङले सही नेतृत्व र वैकल्पिक शक्तिहरूको एकताबिना राजनीतिक परिवर्तन सम्भव नहुने बताए। उनले भने, “सकेसम्म एक भएर जानुपर्छ, नभए कार्यगत एकता गरेर भए पनि अघि बढ्नुपर्ने अवस्थामा हामी छौं। त्यसैले सबै नयाँ र मूलधारका शक्तिहरूलाई एक भएर जान म आह्वान गर्छु।”
घिसिङका अनुसार नेपाली जनताको चाहना पनि वैकल्पिक शक्तिहरूको एकतामै केन्द्रित छ। “नेपाली जनताले सबै वैकल्पिक शक्तिहरू एक भएर अघि बढून् र नयाँ नेतृत्व दिन सकून् भन्ने चाहना राखेका छन्,” वर्तमान सरकारका मन्त्रीसमेत रहेका घिसिङले भने, “यसलाई बुझेर हामी सबै त्यसतर्फ अघि बढ्नुपर्छ।”
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच सातबुँदे सम्झौता भएकै दिन घिसिङको यो अभिव्यक्ति सार्वजनिक भएको हो। यसअघि घिसिङले बालेन शाहसँग एकता तथा सहकार्यका विषयमा छलफल गरे पनि हाल उनी उक्त सहकार्य प्रक्रियाबाट बाहिर रहेका छन्।
घिसिङले उज्यालो नेपाल पार्टी सम्मान, आत्मसम्मान र स्वाभिमान कायम राख्दै सबैसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पारे। आवश्यक गृहकार्य भइरहेको उल्लेख गर्दै उनले केही दिनमै सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरे।
फेसबुकबाट तपाईको प्रतिक्रिया