त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित चार भारतीय नागरिक पक्राउ

205 Shares

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सशस्त्र प्रहरीले करिब १० केजी ९६० ग्राम गाँजासहित चार जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

थाइल्याण्डको बैंकक हुँदै एयर एसियाको उडानबाट काठमाडौँ आएका उनीहरूलाई शुक्रबार दिउँसो करिब २ बजे सशस्त्र प्रहरी बल नेपाल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेस गौचरले पक्राउ गरेको हो।

नियन्त्रणमा परेकाहरूमा ३८ वर्षीया शाजिया, ४८ वर्षीय रइश अहमद, ७२ वर्षीया फातमा र ११ वर्षीय हादी अहमद रहेका छन्। उनीहरू सबै भारतीय नागरिक हुन्।

उनीहरूले ल्याएको लगेजमा कफी र चकलेटका प्याकेटभित्र गाँजा लुकाई छिपाई राखिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरी बलको टोलीले जनाएको छ।

पक्राउ परेका चारै जनालाई बरामद गाँजासहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।