काठमाडौं । वैकल्पिक राजनीतिक शक्ति निर्माणको बहस चलिरहेका बेला काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङबीच छलफल चलिरहेको छ । ललितपुरको ज्वागलस्थित कुमार बेनको निवासमा जारी बालेन र कुलमानबीचको वार्ताले उनीहरू एउटै राजनीतिक मञ्चमा उभिने सम्भावनालाई बलियो बनाएको हो ।
स्रोतका अनुसार, देश विकासको एजेन्डामा बालेन र कुलमान एकै ठाउँमा उभिने विषयमा लगभग अन्तिम सहमति जुइसकेको छ । उनीहरूले नयाँ दल ‘देश विकास पार्टी’ मार्फत अघि बढ्ने तयारी थालेका छन् । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकीकरण प्रक्रिया भने सांगठनिक नेतृत्वको विवादले निष्कर्षमा पुग्न सकेको छैन । यद्यपि सघन छलफल जारी छ ।
पछिल्लो समय बालेन, कुलमान र रास्वपा सभापति रवि लामिछानेबीच त्रिपक्षीय एकताको प्रयास भइरहेको थियो । रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने तर पार्टीको वरीयतामा भने रवि लामिछानेपछि दोस्रो स्थानमा रहनुपर्ने प्रस्ताव गरेको छ । रास्वपाले आफ्नो तल्लो तहसम्मको संगठन र संसदीय अनुभवलाई आधार मान्दै पार्टी संरचनामा आफ्नो वर्चस्व हुनुपर्ने अडान राखेको छ ।
सिके राउत लगायत अन्य दल र स्वतन्त्र हस्तीहरूलाई समेत समेटेर बृहत्तर शक्ति निर्माण गर्नुपर्ने बालेनको धारणा छ । रास्वपाको ढाँचाभित्र मात्र सीमित हुँदा पार्टीको दायरा साँघुरो हुने बुझाइ बालेन पक्षको रहेको बुझिएको छ । अहिले ज्वागलमा जारी बालेन र कुलमानबीचको छलफलले ठोस निर्णय लिने अपेक्षा गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया