निर्वाचन आयोगद्वारा राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचनका लागि मिडिया सेन्टर सञ्चालन

198 Shares

काठमाडौँ। निर्वाचन आयोगले राष्ट्रिय सभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी गतिविधिका बारेमा जानकारी दिन मिडिया सेन्टर सञ्चालनमा ल्याएको छ।

निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी प्रदान गर्ने तथा सञ्चारमाध्यमसँग पारस्परिक सम्बन्ध सुदृढ गर्ने उद्देश्यले आयोगले शुक्रबारदेखि आयोग परिसरमै मिडिया सेन्टर सञ्चालनमा ल्याएको हो। आयोगले पत्रकार सम्मेलनमार्फत निर्वाचनसम्बन्धी सूचनाहरू एकीकृत रूपमा प्रवाह गर्न मिडिया सेन्टर स्थापना गरिएको जनाएको छ।

पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मिडिया सेन्टरमार्फत निर्वाचनसम्बन्धी आधिकारिक सूचना प्रवाह, पत्रकार सम्मेलन आयोजना तथा सञ्चारमाध्यमलाई सत्यतथ्य समाचार उपलब्ध गराउने उद्देश्य रहेको बताउनुभयो।

उहाँले सामाजिक सञ्जालमार्फत फैलिने अपुष्ट तथा भ्रामक सूचनालाई ध्यानमा राख्दै त्यसको तथ्य पहिचान, सरोकारवाला निकायसँग समन्वय र सकारात्मक सूचना प्रवाह सुनिश्चित गर्ने लक्ष्यसहित सूचना सदाचार प्रवर्द्धन केन्द्र पनि स्थापना गरिएको जानकारी दिनुभयो। यसपटक आयोगले सामाजिक सञ्जाल प्लेटफर्महरूसँग समेत सहकार्य गर्ने लक्ष्य लिएको उहाँको भनाइ छ।

प्रवक्ता भट्टराईले निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारीका कामहरू तीव्र गतिमा अगाडि बढिरहेको बताउँदै निर्वाचनको अनुकूल वातावरण निर्माण गर्न आयोग सरकार, राजनीतिक दल र सुरक्षा निकायसँग निरन्तर संवादमा रहेको जानकारी दिनुभयो।