काठमाडौँ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले बिनाधितो ऋण दिने लघुवित्त संस्थाबाहेक अन्य कुनै संस्था नरहेको बताउनुभएको छ।
शुक्रबार काठमाडौंमा आयोजित वागमती प्रदेश लघुवित्त सदस्य सम्मेलनलाई सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले लघुवित्तले बिनाधितो कर्जा प्रवाहमार्फत गरिबी न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो। उहाँका अनुसार पछिल्ला तीन दशकमा लघुवित्तले मुलुकको गरिबी घटाउन उल्लेखनीय योगदान पुर्याएको छ।
उपाध्यक्ष श्रेष्ठले लघुवित्तमार्फत महिलालाई वित्तीय स्रोतमा पहुँच दिई सशक्त बनाइएको बताउँदै, यसले वित्तीय पहुँच विस्तारमा समेत महत्वपूर्ण भूमिका खेलेको स्पष्ट पार्नुभयो। उहाँले राजनीतिक स्वार्थ पूरा गर्न लघुवित्त क्षेत्रलाई बदनाम गरिएको दाबी गर्दै, अहिले अवस्था सामान्य बन्दै गएको बताउनुभयो।
हरेक क्षेत्रमा समस्या रहने उल्लेख गर्दै उपाध्यक्ष श्रेष्ठले समस्या समाधान गर्ने दायित्व राज्यको भएकाले क्रमशः समाधान गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उक्त कार्यक्रममा नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले पनि लघुवित्तले वित्तीय पहुँच विस्तारदेखि वित्तीय समावेशीकरणसम्म महत्वपूर्ण योगदान दिइरहेको बताउनुभयो। उहाँका अनुसार लघुवित्तले महिला सशक्तिकरण, वित्तीय साक्षरता तथा रोजगारी सिर्जनामा समेत उल्लेखनीय भूमिका निर्वाह गरिरहेको छ।
ग्रामीण क्षेत्रको अर्थतन्त्र चलायमान बनाउन र रोजगारी सिर्जना गर्न लघुवित्तको भूमिका महत्वपूर्ण रहेको बताउँदै अध्यक्ष यादवले लघुवित्त क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो। साथै लघुवित्तलाई परेका समस्यालाई राज्यले गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता औंल्याउनुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया