जेनजी आन्दोलनले मुलुकलाई नयाँ दिशा दिएको छ : उपराष्ट्रपति यादव

197 Shares

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले जेनजी युवाको आन्दोलनले मुलुकलाई नयाँ मार्ग र दिशा दिएको बताउनुभएको छ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपराष्ट्रपति यादवले जेनजी आन्दोलनले शिक्षण–सिकाइ प्रक्रियालाई विवेकशील, सचेत, राष्ट्रभक्त र जिम्मेवार नागरिक उत्पादन गर्ने दिशातर्फ रूपान्तरण गर्न प्रेरित गरेको दाबी गर्नुभयो।

उहाँले सो आन्दोलनले लोकतान्त्रिक मूल्य र संविधानको मर्मलाई सुदृढ बनाउने अवसर प्रदान गरेको उल्लेख गर्दै, युवाको सक्रिय सहभागिताले समाज र राज्य व्यवस्थालाई थप जिम्मेवार बनाउने संकेत दिएको बताउनुभयो।

मुलुकमा परिमार्जित, रूपान्तरित र सीपयुक्त शिक्षामा जोड दिन आवश्यक रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले त्यसमा निजी क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने स्पष्ट पार्नुभयो। सरकारको नीति तथा प्राथमिकतासँग मेल खाने गरी शैक्षिक गतिविधि सञ्चालन गर्न निजी क्षेत्रका शिक्षालयहरूको ध्यानाकर्षण पनि उहाँले गराउनुभयो।

यसका साथै उपराष्ट्रपति यादवले अनुसन्धान र नवप्रवर्द्धनलाई प्रोत्साहन गर्ने तथा राष्ट्रअनुकूल ज्ञान उत्पादनमा केन्द्रित शिक्षा प्रणाली विकास गर्न निजी क्षेत्रका शिक्षालयहरूको सक्रिय योगदान आवश्यक रहेको बताउनुभयो।