क्रिकेटर थापा निधन, पारस खड्काद्वारा दुःख व्यक्त

172 Shares

विराटनगर। कोशी प्रदेशका प्रभावशाली क्रिकेटर मिनष थापाको असामयिक निधन भएको छ। बिहीबार बिहान भएको मोटरसाइकल दुर्घटनामा २७ वर्षीय थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रारम्भिक विवरणअनुसार, बिहीबार बिहान करिब पौने १ बजे, विराटनगर-४ स्थित भित्री सडकखण्डमा एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा प्रदेश १-०२-०४२ प ८००२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरी अनुमान छ।

प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार, दुर्घटनापछि गम्भीर अवस्थामा रहेका थापालाई कोशी अस्पताल पुर्‍याइयो। तर, अस्पताल पुर्‍याउने बित्तिकै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

कोशी प्रदेशको टोलीबाट नियमित राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै आएका थापाको निधनले नेपाली क्रिकेट जगतमा शोक फैलाएको छ। नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा पूर्व कप्तान पारस खड्काले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गर्दै भनेका छन्:

"अत्यन्तै दुःखद खबर। कोशी प्रदेशका कुशल तथा अत्यन्त प्रतिभाशाली क्रिकेट खेलाडी भाइ मिनष थापाको दुर्घटनामा असामयिक निधनले हामी सबैलाई गहिरो शोक र स्तब्धतामा पारेको छ।"