नेपालमा सम्भावना हुँदाहुँदै नकारात्मक भाष्य फैलाइयो : अध्यक्ष ढकाल

203 Shares

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा प्रशस्त सम्भावना हुँदाहुँदै पनि विदेशमा बस्ने केही व्यक्तिहरूले नकारात्मकता मात्र फैलाउने काम गरिरहेको आरोप लगाउनुभएको छ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपालमा लगानीका व्यापक सम्भावना रहे पनि “अब नेपालमा केही सम्भावना छैन” भन्ने गलत भाष्य निर्माण गर्न खोजिएको बताउनुभयो। उहाँका अनुसार नेपाल बाहिर बस्ने केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत नकारात्मक भावना फैलाइरहेका छन्। यस्तो नकारात्मकतालाई चिर्दै अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो।

अध्यक्ष ढकालले आन्तरिक पूँजी परिचालनमार्फत नेपालमै थुप्रै परियोजना सञ्चालन गर्न सकिने उल्लेख गर्दै महासंघले त्यसकै लागि १० अर्ब रुपैयाँ बराबरको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड स्थापना गरिएको जानकारी दिनुभयो। सो कम्पनीले नवीन सोच (इनोभेसन) तथा नयाँ स्टार्टअपहरूमा लगानी गर्ने उहाँको भनाइ छ। साथै महिलाको सहभागिता बढाउन कानूनी र नीतिगत सुधार गरिएको पनि उहाँले बताउनुभयो।

एकेडेमी अफ इनोभेसन फर इकोनोमिक डेभलपमेन्ट नेपालको आयोजनामा, नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त पहलअन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजनाको सहकार्यमा बुधबार उच्चस्तरीय नीतिगत संवाद आयोजना गरिएको हो। कार्यक्रममा पर्यटन क्षेत्रमा समावेशी आर्थिक वृद्धि र महिला उद्यमशीलता प्रवर्द्धनका उपायहरूमाथि छलफल गरिएको छ।

उक्त कार्यक्रममा होमस्टे, आवास सेवा, हस्तकला, खाद्य सेवा तथा समुदायमा आधारित पर्यटनजस्ता सूक्ष्म, साना तथा मझौला उद्यममार्फत महिलाहरूको उल्लेखनीय योगदानबारे पनि विस्तृत छलफल भएको थियो।