कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपामा जारी

199 Shares

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी मुख्यालय सानेपामा जारी रहेको छ।

बुधबार दिउँसो ३ बजेपछि सुरु भएको बैठकमा पदाधिकारी, पूर्वपदाधिकारी तथा वरिष्ठ केन्द्रीय सदस्यहरूको सहभागिता रहेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। बैठकमा यही पुस २६ गतेदेखि सुरु हुने भनिएको १५औँ महाधिवेशनलाई आगामी माघसम्म सार्ने सम्भावनाबारे छलफल भइरहेको छ।

बैठकमा पुस २६ देखि २८ गतेसम्म आयोजना गर्ने तय गरिएको महाधिवेशनको तयारी र क्रियाशील सदस्यता वितरणमा देखिएको ढिलाइका विषयमा छलफल जारी छ। नयाँ क्रियाशील सदस्यता वितरणमा भएको विलम्बका कारण महाधिवेशनको कार्यतालिका हेरफेर हुन सक्ने बुझिएको छ।

हालको कार्यतालिकाअनुसार क्रियाशील सदस्यता टुंग्याएर पुस १६ गते वडा अधिवेशन गर्ने, पुस १७ गते पालिका अधिवेशन तथा पुस १९ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन गर्ने कार्यक्रम तय गरिएको छ।

त्यसैगरी पुस २१ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लाको अधिवेशन, पुस २२ गते दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लाको अधिवेशन, पुस २३ र २४ गते प्रदेश अधिवेशन तथा पुस २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका रहेको थियो।