काठमाडौं। नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भंग गरी सर्वपक्षीय सरकार गठन गर्न माग गर्दै १० दिने अल्टिमेटम दिएको छ।
नेकपा माओवादीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेललाई १३ बुँदे ज्ञापनपत्र बुझाउँदै कार्की नेतृत्वको अन्तरिम सरकार तत्काल भंग गर्न माग गरेको हो। ज्ञापनपत्रमा जेन–जी विद्रोहको भावना अनुरूप विशेष परिस्थितिमा अवलम्बन गरिने आवश्यकताको सिद्धान्त प्रयोग गरी संविधान संशोधन गर्नुपर्ने माग पनि समावेश गरिएको छ।
ज्ञापनपत्रमा भनिएको छ, “यदि जनताका भावना, अग्रगामी राजनीतिक प्रस्ताव र जेन–जीका आवाजहरूलाई समयमै सुनिएन भने परिस्थिति फेरि पनि विस्फोटक नबन्ने भनेर भन्न सकिँदैन। तसर्थ वर्तमान परिस्थितिको गम्भीरतालाई मध्यनजर गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का तर्फबाट तत्काल निम्न मागहरू पूरा गरिए मात्र देशलाई सापेक्षिक शान्ति, स्थिरता र निर्वाचनतर्फ लैजान सकिन्छ भन्ने मान्यतासहित यो ज्ञापनपत्र पेश गरिएको हो।”
नेकपा माओवादीले १० दिनभित्र आफ्ना मागहरू सम्बोधन नगरिए सडक संघर्षमा उत्रिने चेतावनी समेत दिएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया