रास्वपा, राप्रपा र जनमत पार्टी कार्यालयमा सरकारी अनुगमन सुरु

221 Shares

काठमाडौं । सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक संवाद समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीको केन्द्रीय कार्यालय अनुगमन गर्ने भएको छ।

समितिले यसअघि मंगलबार नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय अनुगमन गरेको थियो। आजको कार्यक्रमअनुसार समितिले बिहान ११ बजे जनमत पार्टी, दिउँसो १ बजे राप्रपा र दिउँसो ३ बजे रास्वपा को कार्यालय अनुगमन गर्नेछ। अनुगमनका क्रममा ती पार्टीका शीर्ष नेताहरूसँग छलफलसमेत गरिने जनाइएको छ।

सरकारले कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हा को संयोजकत्वमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य रहेको उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको हो।

उक्त समितिले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आवश्यक वातावरण निर्माण गर्ने उद्देश्यले विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटघाट तथा संवाद गर्दै आएको छ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले निर्वाचनको माहोल बनाउन चरणबद्ध राजनीतिक वार्ता र संवादलाई तीव्रता दिइएको बताए। उनले सरकार दलहरुकै कार्यालयमा पुगेर संवाद गर्नु निर्वाचन निष्पक्ष र इमान्दारिताका साथ गराउन खोजिएको स्पष्ट सन्देश भएको उल्लेख गरे।

‘निर्वाचनको वातावरण निर्माणका लागि सरकारले चरणबद्ध वार्तालाई निरन्तरता दिएको छ। यसले दलहरूलाई पनि निर्वाचनतर्फ केन्द्रित गराउन सकारात्मक दबाव सिर्जना गर्छ,’ मन्त्री खरेलले भने।

समितिले यसअघि मंगलबार कांग्रेस, एमाले र नेकपाका कार्यालयमा पुगेर अनुगमन तथा नेताहरूसँग छलफल गरेको थियो।