काठमाडौं । टाइगर ग्रुप अफ पोखराको आयोजनामा माघ ९ गतेदेखि छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु हुने भएको छ । प्रतियोगितामा महिला र पुरुष गरी कुल १४ टोली सहभागी हुनेछन् ।
यस वर्ष प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको आयोजकले जनाएको छ । महिला र पुरुष दुवैतर्फ ७–७ टोलीले प्रतिस्पर्धा गर्नेछन् । नेपालका शीर्ष क्लबहरूसँगै थाइल्याण्ड, भारत र माल्दिभ्सका अन्तर्राष्ट्रिय टोलीहरूको सहभागिता रहनेछ ।
महिलातर्फ नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, टिपटप न्यू डायमन्ड युथ स्पोर्ट्स क्लब, एभरेस्ट भलिबल क्लब रुपन्देही, युनाइटेड प्यासन भलिबल क्लब (थाइल्याण्ड) र थाइल्याण्ड क्वीन्स सहभागी हुनेछन् ।
पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ पोखरा, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, पर्वत जिल्ला भलिबल संघ, माल्दिभ्स भलिबल एसोसिएसन र गुजरात भलिबल क्लब (भारत) ले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा विजेता टोलीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ, उपविजेताले ३ लाख ६६ हजार ६६६ रुपैयाँ र तृतीय स्थान हासिल गर्ने टोलीले १ लाख ६६ हजार ६६६ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता माघ ९ देखि १७ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया