काठमाडाैं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशलाई अहिले एक जिम्मेवार अभिभावकको आवश्यकता रहेको बताउनुभएको छ।
मंगलबार काठमाडौंमा स्वर्गीय कृष्णप्रसाद भट्टराईको १०२औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै नेता कोइरालाले यस्तो धारणा व्यक्त गर्नुभएको हो। उहाँले आफूलाई संवैधानिक राजतन्त्रको पक्षमा उभिन सुझाव आउने गरेको उल्लेख गर्दै अब त्यो सम्भावना ढिला भइसकेको र एक्लै प्रयास गरेर सम्भव नहुने बताउनुभयो।
नेता कोइरालाले नेपाललाई राजनीतिक स्थिरता दिनु आजको प्रमुख आवश्यकता रहेको उल्लेख गर्दै राष्ट्रियता र प्रजातन्त्रलाई सँगसँगै लैजान नसके मुलुक टिक्न नसक्ने चेतावनी दिनुभयो। उहाँले देशको राष्ट्रियता अत्यन्तै नाजुक अवस्थामा रहेको बताउँदै प्रजातन्त्र र लोकतन्त्र छाडातन्त्रमा परिणत हुँदै गएको टिप्पणी गर्नुभयो।
जेनजी आन्दोलनप्रति संकेत गर्दै नेता कोइरालाले बाहिर देखिने अनुहार नेपाली भए पनि आन्दोलनभित्रको वास्तविक स्वरूप के थियो भन्ने विषयमा गहिरो अध्ययन आवश्यक रहेको बताउनुभयो।
राजनीतिमा संलग्न व्यक्तिहरूमा नैतिकता र संस्कार अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले अहिलेको नेपाली राजनीतिमा लोकरिझ्याँईलाई प्राथमिकता दिइँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया