काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू तथा प्रधानमन्त्रीबीच शीतल निवासमा छलफल जारी रहेको छ।
राष्ट्रपति कार्यालय शीतल निवासमा भइरहेको उक्त छलफलमा प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनुहुन्छ।
प्रधानमन्त्री कार्की नियुक्त भएपछि प्रमुख दलका शीर्ष नेताहरूसँग भएको यो पहिलो प्रत्यक्ष भेटघाट हो। जेन–जी आन्दोलनको समर्थनमा प्रधानमन्त्री बनेकी कार्कीले यसअघि शीर्ष राजनीतिक नेताहरूसँग संवाद नगर्ने सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो।
तर राष्ट्रपति पौडेलको पहलमा हाल शीर्ष नेताहरूबीच प्रत्यक्ष संवाद सुरु भएको हो। छलफलको एजेन्डाबारे भने औपचारिक रूपमा केही सार्वजनिक गरिएको छैन।
फेसबुकबाट तपाईको प्रतिक्रिया