जाँचबुझ आयोगले बयानका लागि लेखकलाई पठायो पत्र

207 Shares

काठमाडौँ । जेन–जी आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीका अनुसार लेखकलाई मंगलबार बयानका लागि उपस्थित हुन पत्र काटिएको हो। यस्तै, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने अझै पत्र पठाउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो।

सरकारले जेन–जी आन्दोलनका क्रममा भएको बलप्रयोगलगायत घटनाको सत्यतथ्य छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो। आयोगमा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्यका रूपमा रहेका छन्।

सुरुमा तीन महिनाको कार्यकाल तोकिएको उक्त आयोगको म्याद हालै एक महिना थप गरिएको छ। आयोगले आन्दोलनका क्रममा भएका घटनाबारे सरोकारवाला व्यक्तिहरूसँग बयान लिँदै अनुसन्धान अघि बढाइरहेको छ।