कांग्रेसको प्रधानमन्त्री कार्कीलाई जवाफ: ‘तपाईकै जेठो छोराे सुदन गुरूङले निर्वाचन हुन दिन्न भनेपछि हाम्रो के लाग्छ’

172 Shares

काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अन्तरिम सरकारसँग भएको १० बुँदे सम्झौताका पक्षधर जेन–जी समूहले नै निर्वाचन हुन नदिने घोषणा गरेको भन्दै आगामी निर्वाचन हुने–नहुने विषयमा गम्भीर आशंका व्यक्त गर्नुभएको छ।

मंगलबार कांग्रेसको पार्टी कार्यालय सानेपामा आयोजित निरीक्षण तथा वार्ताका क्रममा सरकारद्वारा गठित राजनीतिक वार्ता समितिसँगको छलफलमा उहाँले उक्त टिप्पणी गर्नुभएको हो। जेन–जी अगुवा सुदन गुरुङले एक टेलिभिजन अन्तर्वार्तामा निर्वाचन हुन नदिने अभिव्यक्ति दिएको उल्लेख गर्दै उपसभापति गुरुङले यसले सरकार साँच्चिकै निर्वाचन गराउन प्रतिबद्ध छ कि छैन भन्नेमा प्रश्न उठाएको बताउनुभयो।

निषेधको राजनीति र निषेधकै भावनाबाट निर्वाचन सम्भव नहुने उहाँको भनाइ छ। सरकारले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्नेतर्फ ध्यान नदिएको आरोप लगाउँदै उहाँले पुराना वा नयाँ दलको नाममा कुनै पनि राजनीतिक दललाई रोक लगाएर निर्वाचन सम्पन्न हुन नसक्ने जिकिर गर्नुभयो।

उपसभापति गुरुङले कुनै पनि मतदाताको मताधिकार खोसिन नदिने कुरामा नेपाली कांग्रेस दृढ रहेको स्पष्ट पार्नुभयो। साथै, नेपाली कांग्रेस निर्वाचनबाट नभाग्ने स्पष्ट गर्दै उहाँले सरकारले अझैसम्म निर्वाचनका लागि आवश्यक वातावरण निर्माण गर्न नसकेको आरोप लगाउनुभयो।

निर्वाचनका लागि शान्ति सुरक्षा पहिलो सर्त भएको उल्लेख गर्दै उहाँले सरकारले भयमुक्त वातावरण सुनिश्चित गर्न असफल भएको टिप्पणी गर्नुभयो।