आगामी फागुन २१ गते निर्वाचन गर्नुको विकल्प छैनः सञ्चारमन्त्री खरेल

193 Shares

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल ले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन गर्नुको विकल्प नरहेको स्पष्ट पार्नुभएको छ।

सरकारद्वारा गठित राजनीतिक वार्ता समितिको तर्फबाट मंगलबार नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा निरीक्षण तथा वार्ताका लागि पुग्नुभएका मन्त्री खरेलले जेन–जी जनआन्दोलनबाट बनेको सरकारले निर्वाचन गराउनुपर्ने स्पष्ट जनादेश प्राप्त गरेको बताउनुभयो। उहाँले प्राप्त आदेशअनुसार फागुन २१ मै निर्वाचन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

मन्त्री खरेलले निर्वाचन समयमै सम्पन्न गर्न विभिन्न राजनीतिक दल तथा सर्वपक्षीय निकायसँग निरन्तर संवाद भइरहेको जानकारी दिँदै राजनीतिक संवाद समितिले दलहरूसँग छलफल अघि बढाइरहेको बताउनुभयो। वार्ता र सहजीकरणका लागि तीन सदस्यीय सरकारी वार्ता टोली गठन गरिएको र आन्दोलनका क्रममा भएको क्षतिको अवस्था बुझ्नसमेत आफूहरू निरीक्षणमा निस्किएको उहाँको भनाइ थियो।

यसैबीच, कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा ले वर्तमान परिस्थितिमा राजनीतिक दलहरूले निकासबारे गम्भीर रूपमा सोच्नुपर्ने समय आएको बताउनुभयो। उहाँले अहिलेको विषम अवस्थामा निर्वाचन बाहेक अन्य कुनै विकल्प नरहेको र अत्यधिक ढिलाइ हुँदा देशको स्थायित्वमा असर पर्न सक्ने धारणा राख्नुभयो। निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सरकारले आवश्यक सहयोग गर्न तयार रहेको उहाँले स्पष्ट पार्नुभयो।

सरकारद्वारा गठित राजनीतिक संवाद समितिमा कानूनमन्त्री अनिलकुमार सिन्हाको संयोजकत्वमा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्री सुशीला कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनाल सदस्य रहेका छन्।