निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै

190 Shares

काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघको वार्षिक साधारण सभा तथा निर्वाचन हुने भएको छ।

महासंघको उक्त साधारण सभाबाट नयाँ नेतृत्व चयन गरिनेछ। महासंघका महासचिव रोशन दाहाल का अनुसार महासंघको २६औँ साधारण सभा तथा निर्वाचन आगामी माघ १५, १६ र १७ गते काठमाडौंमा आयोजना हुनेछ।

साधारण सभामा प्रदेश महासंघ, जिल्ला संघ, एशोसिएट सदस्य तथा वस्तुगत संघ हरूबाट प्रतिनिधिहरूको सहभागिता रहनेछ। महासंघका अनुसार प्रदेश महासंघबाट अध्यक्षसहित १५ जना, ५० जनासम्म सदस्य संख्या भएको जिल्ला संघबाट ३ जना, र ५० भन्दा बढी सदस्य भएका जिल्लाबाट प्रत्येक थप ५० सदस्य बराबर एक जना प्रतिनिधि पठाउन पाइनेछ।

यस्तै, ५ जना भन्दा बढी प्रतिनिधि पठाउने संघले कम्तीमा एक जना महिला प्रतिनिधि अनिवार्य रूपमा पठाउनुपर्ने व्यवस्था गरिएको छ। एशोसिएट सदस्यतर्फबाट एशोसिएट सदस्य समन्वय समितिका संयोजकसहित ३९ जना प्रतिनिधि रहनेछन् भने प्रत्येक वस्तुगत संघबाट एक जना साधारण सभा प्रतिनिधि हुने महासंघले जनाएको छ।

महासंघले साधारण सभा प्रतिनिधिहरूको नामावली पुस २९ गतेसम्म केन्द्रीय कार्यालयमा पठाउन सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ।