ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ

180 Shares

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की ले राजनीतिक दलहरूको मात्र गीत गाएर देशको उन्नति सम्भव नहुने बताउनुभएको छ।

सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले देशको विकास र उन्नति नै मुख्य प्राथमिकता भएको उल्लेख गर्नुभयो। उहाँले रातारात सबै परिवर्तन सम्भव नहुने भन्दै सरकारले क्रमशः काम गरिरहेको स्पष्ट पार्नुभयो।

प्रधानमन्त्री कार्कीले नेकपा एमालेका अध्यक्ष तथा जेन–जी आन्दोलनको समयका प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै अनुसन्धानका लागि पक्राउ गर्न कानुनले व्यवस्था गरेको भए पनि मान्छेलाई समाएर टुँडिखेलमा गोली हान्ने अभ्यास नभएको बताउनुभयो। आफूहरू कानुनका ज्ञाता भएकाले कानुनअनुसार नै अघि बढ्ने उहाँको भनाइ थियो।

उहाँले आफू सरकारमा आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० वटा मुद्दा दर्ता गरेको र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले यसअघि कहिल्यै नगरेको काम गरिरहेको दाबी गर्नुभयो।

प्रधानमन्त्री कार्कीले भन्नुभयो,
“सधैँ राजनीतिक दलहरूको मात्र गीत गाएर हुँदैन। उन्नति देशको हुनुपर्छ, विकास हुनुपर्छ। एकै रातारात सबै कुरा हुँदैन। कानुन भनेको मान्छेलाई पक्रिएर टुँडिखेलमा गोली हान्ने कुरा होइन। हामी कानुनका ज्ञाता हौँ, त्यसका पनि प्रक्रिया र समय हुन्छन्। आज हामी आएपछि अख्तियारले करिब ४० वटा मुद्दा दर्ता गरेको छ, सिआइबीले पनि सक्रिय रूपमा काम गरिरहेको छ, जुन पहिला कहिल्यै भएको थिएन।”

प्रधानमन्त्री कार्कीले देशका लागि सबै पक्ष मिलेर काम गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो।