एमालेको ११ औँ महाधिवेशन सन्देश प्रवाह गर्न आज देशभर संयुक्त भर्चुअल बैठक बस्दै

201 Shares

काठमाडौँ । नेकपा एमालेले ११ औँ महाधिवेशनबाट भएका निर्णय र सन्देश देशभर प्रवाह गर्ने उद्देश्यले आज सबै प्रदेश तथा ७७ वटै जिल्ला कमिटीको संयुक्त बैठक आयोजना गरेको छ।

पार्टी महासचिव शंकर पोखरेल ले दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यम मार्फत बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। बैठकमार्फत महाधिवेशनले चयन गरेको नयाँ नेतृत्व, उनीहरूको कार्यभार तथा वर्तमान राजनीतिक अवस्थाबारे पार्टी पंक्तिलाई स्पष्ट सन्देश दिने तयारी गरिएको छ।

केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारी का अनुसार जिल्ला कमिटीका पदाधिकारीदेखि सचिवालय सदस्यसम्म तथा प्रदेश कमिटीका पदाधिकारीसहित सबै सदस्यलाई जुम आइडी पठाइसकिएको छ।
उनले भने, “११ औँ महाधिवेशनका प्रारम्भिक निर्णय र सन्देश जनसमक्ष पुर्‍याउने उद्देश्यले यो बैठक आयोजना गरिएको हो। महासचिव कमरेडले महाधिवेशनको राजनीतिक निष्कर्ष र आगामी कार्यदिशाबारे स्पष्ट पार्नुहुनेछ।”

एमालेले स्थानीय तहमा भइरहेका गतिविधि, पार्टीभित्रको समन्वय तथा महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशालाई आत्मसात् गर्दै संगठन सुदृढ गर्न पार्टी पंक्तिलाई निर्देशन दिने जनाएको छ।

यसैबीच, कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडा का अनुसार बैठकसम्बन्धी जानकारी सबै जिल्ला कमिटीलाई यसअघि नै गराइसकिएको छ।