अफ्रिका कप फुटबल: इजिप्टको विजयी सुरुवात

190 Shares

काठमाडौं । अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगितामा इजिप्ट र दक्षिण अफ्रिकाले विजयी सुरुवात गरेका छन्।

गएराति भएको समूह ‘बी’ को खेलमा इजिप्टले जिम्बाबेलाई २–१ गोलले पराजित गर्‍यो। इजिप्टका लागि ओमार मारमौस र मोहमद सालाह ले एक–एक गोल गरे। जिम्बाबेका प्रिन्स डुबे ले खेलको पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए, तर जिम्बाबेले त्यो अग्रता जोगाउन सकेन।

समूह ‘बी’ कै अर्को खेलमा दक्षिण अफ्रिकाले एंगोलामाथि २–१ को जित हात पार्‍यो। दक्षिण अफ्रिकाका ओस्विन अपोलिस र लायल फोस्टर ले एक–एक गोल गरे भने एंगोलाका लागि म्यानुएल शो ले सान्त्वना गोल गरे।

यस्तै, समूह ‘ए’ को खेलमा माली र जाम्बियाबीच १–१ गोलको बराबरी भएको छ। यसअघि सोही समूहको पहिलो खेलमा आयोजक मोरक्कोले कोमोरोसलाई २–० ले हराएको थियो।

अफ्रिका कप अफ नेशन्समा आज चार खेल हुँदैछन्। समूह ‘डी’ अन्तर्गत कंगो र बेनिन तथा सेनेगल र बोत्सवाना आमनेसामने हुँदा समूह ‘सी’ मा नाइजेरिया र तान्जानिया तथा ट्युनिसिया र युगाण्डाबीच प्रतिस्पर्धा हुनेछ।