काठमाडौं । नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप आगामी पुस ११ गतेदेखि सुरु हुने भएको छ। नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा हुने प्रतियोगितामा पुरुषतर्फ १२ र महिलातर्फ ८ टोली सहभागी हुनेछन्।
यसपटक भने गण्डकी प्रदेश च्याम्पियनसिपमा सहभागी नहुने संघले जनाएको छ। च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ र महिलातर्फ शीर्ष ६ टोली प्रधानमन्त्री कप एनभीए लिगका लागि छनोट हुनेछन्।
महिलातर्फ तीन विभागीय टोली—नेपाल पुलिस क्लब, एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब सहभागी छन्। यस्तै, न्यू डायमन्ड युथ स्पोर्ट्स क्लब, एभरेस्ट भलिबल क्लब, कर्णालीको चुली युवा क्लब, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र मधेश प्रदेश खेलकुद परिषद् पनि प्रतियोगितामा सहभागी हुनेछन्।
पुरुषतर्फ तीन विभागीय टोलीसँगै मणिमुकुण्ड भलिबल क्लब, हेल्प नेपाल स्पोर्ट्स क्लब, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, कोशी प्रदेश भलिबल संघ, खिल्जी युवा क्लब, बुढानीलकण्ठ भलिबल क्लब, ढोरपाटन क्लब र कीर्तिपुर भलिबल प्रशिक्षण केन्द्र ले सहभागिता जनाउनेछन्।
संघका अनुसार विभागीय टोलीबाहेकका क्लबहरूले अधिकतम तीन विदेशी खेलाडी सम्म खेलाउन पाउने व्यवस्था गरिएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहल मा सञ्चालन हुनेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया