फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा

196 Shares

फागुन २१ मा निर्वाचन अनिवार्य : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन हुनैपर्ने स्पष्ट धारणा व्यक्त गर्नुभएको छ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले हाल निर्वाचन समयमै हुन्छ कि हुँदैन भन्ने विषयमा अन्योल सिर्जना भएको उल्लेख गर्नुभयो। यस्तो अनिश्चितता अन्त्य गर्न समयमै निर्वाचन गरिनु अपरिहार्य रहेको उहाँको भनाइ थियो।

उहाँले चुनावको परिणाम कस्तो आउँछ भन्नेभन्दा पनि निर्वाचन सम्पन्न गरी नयाँ जनादेशसहित सरकार गठन गर्नु मुख्य विषय भएको बताउनुभयो। अहिले संविधान सही मार्गबाट बाहिर गएको जिकिर गर्दै उहाँले निर्वाचनमार्फत संविधानलाई पुनः सही ट्रयाकमा ल्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो।

महामन्त्री थापाले हरेक पाँच वर्षमा निर्वाचन हुनुपर्ने व्यवस्था २०१५ सालदेखि नै लागू हुनुपर्ने भए पनि व्यवहारमा लागू हुन नसकेको उल्लेख गर्नुभयो। संवैधानिक राजतन्त्र कायम रहे पनि त्यसले मुलुकको लोकतान्त्रिक अभ्यासमा कुनै नकारात्मक असर नपर्ने उहाँको भनाइ थियो।

उहाँले भन्नुभयो, “आज चुनाव हुन्छ कि हुँदैन भन्ने ठूलो अनिश्चय छ। चुनाव भएन भने के हुन्छ भन्ने प्रश्न खडा भएको छ। तर फागुन २१ गते निर्वाचन हुनु अनिवार्य छ। चुनावको परिणाम हाम्रो पक्षमा कति अनुकूल वा प्रतिकूल हुन्छ, त्यो आन्तरिक विषय हो। त्यसबारे छलफल गर्न सकिन्छ, मेहनत गर्न सकिन्छ।”

संविधान हाल निर्धारित मार्गबाट विचलित भएको उल्लेख गर्दै उहाँले नयाँ संसद गठन भएपछि मात्रै संवैधानिक प्रक्रियाले गति लिने बताउनुभयो। “संविधानलाई ट्रयाकमा फर्काउन फागुन २१ गते निर्वाचन आवश्यक छ। निर्वाचनले नयाँ संसद ल्याउँछ र त्यसले क्रमशः आफ्ना दायित्व पूरा गर्छ,” उहाँले जोड दिनुभयो।

नेपालमा निरन्तर निर्वाचन नहुनु नै ऐतिहासिक कमजोरी भएको बताउँदै महामन्त्री थापाले २०१५ सालदेखि नियमित रूपमा निर्वाचन भएको भए आज मुलुकको अवस्था फरक हुने धारणा राख्नुभयो। समयमै निर्वाचन नभए देश ठूलो अनिश्चितताको दिशातर्फ जान सक्ने चेतावनी पनि उहाँले दिनुभयो।