काठमाडौं ।नेकपा एमालेका उपमहासचिव लेखराज भट्टका सहोदर भाइ गोकर्ण भट्ट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्यसमेत रहेका भट्टले गत कात्तिक १४ गते नेकपा एमाले परित्याग गर्ने घोषणा गरेका थिए। त्यसपछि एमालेमा निष्क्रिय रहेका उनी आज औपचारिक रूपमा रास्वपामा आबद्ध भएका हुन्।
गोकर्ण भट्ट यसअघि माओवादी केन्द्र हुँदै एमालेमा सक्रिय रहँदै आएका थिए। उनले २०७४ सालमा कैलालीको गोदावरी नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवारी दिएका थिए तर पराजित भएका थिए। त्यसैगरी २०७९ सालको स्थानीय तह निर्वाचनमा पनि नगर प्रमुखकै उम्मेदवार बनेका भट्टले पुनः पराजय भोगेका थिए।
रास्वपामा प्रवेश गर्दै भट्टले पुराना दलका नेताहरूबाट झुटा आश्वासनका कारण आम नागरिक ठगिँदै आएको आरोप लगाउँदै नयाँ नेपाल निर्माणको यात्रामा सहभागी हुन रास्वपा रोजेको बताएका छन्। उनले देश परिवर्तनको अभियानमा साथ दिन दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि आह्वान समेत गरेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया