महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण बन्न सकेन: उप-महासचिव भट्टराई

161 Shares

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको ११औँ महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धाको वातावरण नबनेको आरोप लगाउनुभएको छ।

शनिबार काठमाडौंमा ईश्वर पोखरेल समूहले आयोजना गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव भट्टराईले प्रतिनिधि छनोटदेखि बन्दसत्र र निर्वाचनसम्म पार्टीका संरचनाहरूको दुरुपयोग भएको बताउनुभयो। यसले पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक अभ्यासमाथि गम्भीर प्रश्न उठाएको उहाँको भनाइ छ।

उपमहासचिव भट्टराईले आगामी दिनमा यस विषयमा थप समीक्षा गरिने जानकारी दिनुभयो। लोकतान्त्रिक प्रक्रियामा सहभागी भइसकेपछि आएको परिणामलाई भने स्वीकार गर्ने उहाँले स्पष्ट गर्नुभयो। उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीले अघि सारेका सकारात्मक पक्षलाई समर्थन गर्ने र पक्षपातपूर्ण व्यवहार देखिए प्रतिवाद गर्ने चेतावनी दिनुभयो।

उहाँले आगामी निर्वाचनलगायत बाह्य प्रतिस्पर्धामा पार्टी एकजुट भएर अघि बढ्ने बताउँदै विचारका आधारमा पार्टीभित्र अन्तरसंघर्ष भने जारी रहने उल्लेख गर्नुभयो। अध्यक्ष ओलीको व्यवहारमा खासै परिवर्तन नआएको टिप्पणी गर्दै सामूहिक निर्णय प्रक्रिया र नेतृत्व हस्तान्तरणको एजेण्डा निरन्तर उठाइरहने उहाँले बताउनुभयो।

पार्टीभित्र कसैको अपमान वा मानमर्दन गरिए प्रतिवाद गरिने चेतावनी दिँदै उपमहासचिव भट्टराईले महाधिवेशनमा आफ्नो पक्षले अपेक्षित सफलता हासिल गर्न नसकेको विषयमा पनि समीक्षा गर्ने निर्णय भएको जानकारी दिनुभयो। साथै निर्वाचनमा सहभागी भएर सफलता हासिल गर्न सकेका नेताहरूलाई विचलित नहुन र पार्टी निर्माणमा सक्रिय रहन आग्रह गरिएको उहाँले बताउनुभयो।