मधेश प्रदेशको सभामुख पदका लागि २ जनाको उम्मेदवारी दर्ता

198 Shares

काठमाडौँ । मधेश प्रदेश सभाको सभामुख पदका लागि दुई जना प्रदेशसभा सदस्यले उम्मेदवारी दर्ता गराएका छन्।

शनिबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको मनोनयन दर्ता समयभित्र सत्तारुढ सात दलीय गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव र नेकपा एमालेका त्रिलोकी प्रसादले सभामुख पदमा उम्मेदवारी दर्ता गराएको प्रदेशसभा सचिवालयका प्रवक्ता विपिन ठाकुरले जानकारी दिनुभयो।

जसपा नेपालका प्रमुख सचेतकसमेत रहनुभएका यादवको उम्मेदवारीमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंह प्रस्तावक तथा नेकपा माओवादी केन्द्रका फकिरा महतो समर्थक रहनुभएको छ। सभामुख उम्मेदवारी दर्ता अघि बसेको सात दलीय गठबन्धनको बैठकले यादवलाई सर्वसम्मत रूपमा साझा उम्मेदवार बनाउने निर्णय गरेको थियो।

यता एमालेका तर्फबाट उम्मेदवारी दिनुभएका त्रिलोकी प्रसादको प्रस्तावकमा प्रदेशसभा सदस्य शारदादेवी थापा र समर्थकमा जयचन्द्रप्रसाद पटेल रहनुभएको छ। सभामुख उम्मेदवारी दर्ताअघि बसेको एमाले संसदीय दलको बैठकले त्रिलोकी प्रसादलाई आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेको थियो।