संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिले संसद् पुनर्स्थापना घोषणा गर्नुपर्छ : महेश बर्तौला

197 Shares

काठमाडौं । विघटित प्रतिनिधिसभामा नेकपा एमालेका तर्फबाट मुख्य सचेतक रहनुभएका महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलले संसद् पुनर्स्थापना गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।

शनिबार विज्ञप्ति जारी गर्दै बर्तौलाले राष्ट्रपति पौडेलले आफ्नो संवैधानिक कमजोरी सच्याउँदै अविलम्ब प्रतिनिधिसभा पुनर्स्थापना घोषणा गर्नुपर्ने बताउनुभएको हो। संविधानको परिपालक र संरक्षकको भूमिकामा रहेका राष्ट्रपतिबाट भएको गम्भीर संवैधानिक असावधानीका कारण प्रतिनिधिसभा विघटन भएको उहाँको आरोप छ।

बर्तौलाले प्रतिनिधिसभा विघटनलाई लोकतन्त्र र जनताको सार्वभौमसत्तामाथिको प्रहारका रूपमा व्याख्या गर्नुभएको छ। “यो केवल संसद्को विघटन मात्र होइन, लोकतन्त्रको आत्मामाथिको नाङ्गो प्रहार र जनतामा निहित सार्वभौमसत्ताको शिरछेदन हो,” उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ। साथै यसविरुद्ध दर्जनौं रिट सर्वोच्च अदालतमा दर्ता भई विचाराधीन अवस्थामा रहेको पनि उहाँले स्मरण गराउनुभयो।

उहाँले अदालतको आदेश कुर्नु नपरी राष्ट्रपतिले नै आफूबाट भएको संवैधानिक कमजोरी सच्याउन सक्ने जिकिर गर्नुभएको छ। “संविधानसम्मत निर्णय हुन नसक्दा उत्पन्न संवैधानिक संकट र बढ्दो राजनीतिक अस्थिरता अन्त्य गर्न राष्ट्रपतिले विगतका नजीरका आधारमा संसद् पुनर्स्थापना घोषणा गरी बैठक आह्वान गर्नुपर्छ,” विज्ञप्तिमा भनिएको छ।

बर्तौलाले तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ साल जेठ ८ गते विघटन गरिएको प्रतिनिधिसभालाई अदालतको आदेशविनै २०६३ वैशाख ११ गते घोषणामार्फत पुनर्स्थापना गरेको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्नुभएको छ।