काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश निर्माणका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको दाबी गर्नुभएको छ।
शनिबार चितवनको चौबिसकोटीमा आयोजित सभालाई सम्बोधन गर्दै, हिजोमात्रै कारागारबाट रिहा भएका तथा पूर्व गृहमन्त्रीसमेत रहनुभएका लामिछानेले देश बनाउने विषय व्यक्तिभन्दा ठूलो भएकाले आवश्यक परे जुनसुकै त्याग गर्न पनि आफू तयार रहेको बताउनुभयो।
उहाँले मिल्नुपर्ने शक्तिहरू अन्तिम समयमा एकजुट भएर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो। “म कारागारमै हुँदा पनि भनेको थिएँ—म जे त्याग गर्न पनि तयार छु। पार्टीले जे निर्णय गर्छ, त्यही स्वीकार गर्छु। मलाई केही चाहिएको छैन,” उहाँले भन्नुभयो।
सभापति लामिछानेले पार्टी, चुनाव चिन्ह, झण्डा, कार्यालयदेखि पदसम्म त्याग्न सक्ने बताउँदै, “देश बन्नुपर्यो, व्यक्तिको कुनै ठूलो कुरा होइन,” भन्ने धारणा राख्नुभयो। उहाँले मिल्नुपर्ने सबै पक्षसँग निरन्तर संवाद भइरहेको जानकारी पनि दिनुभयो।
उहाँले आफू एक चुनावका लागि मात्रै राजनीतिमा नआएको स्पष्ट पार्दै भन्नुभयो, “यो मिल्ने कुरा एउटा चुनावका लागि होइन। म एउटा पुस्ताका लागि राजनीतिमा आएको हुँ।”
सभापति लामिछानेले सरकारलाई जसरी पनि निर्वाचन गराउने दिशामा अघि बढ्न आग्रह गर्नुभयो। जेनजी आन्दोलनबाट बनेको सरकारले जेनजीकै सपना पूरा गर्नुपर्ने भन्दै रास्वपा त्यसका लागि सरकारसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो।
“निर्वाचनमा देश जानुपर्छ। रास्वपा जेनजीका माग पूरा गराउने र निर्वाचन सम्पन्न गराउने विषयमा सरकारसँग खडा हुनेछ,” उहाँले भन्नुभयो। साथै उहाँले सुशासन कायम गर्ने विषयमा सरकार डराउन नपर्ने र जनताको साथ सरकारसँग रहेको पनि उल्लेख गर्नुभयो।
सभापति लामिछानेले आफू जेनजी पुस्ताकै साथमा रहेको बताउँदै चिन्ता नगर्न आग्रह गर्नुभयो। “हाम्रा संरचना जले, सपना जले। संरचना फेरि बनाउन सकिन्छ, तर खरानी भएका सपनालाई हामी सबै मिलेर ब्यूँताउनुपर्छ,” उहाँले भन्नुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया