पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाई

217 Shares

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई बधाइ ज्ञापन गर्नुभएको छ।

एमालेकी पूर्वउपाध्यक्षसमेत रहनुभएकी भण्डारीले लोकतान्त्रिक प्रतिस्पर्धामार्फत नयाँ नेतृत्व चयन हुनु एमालेको सङ्गठनात्मक परिपक्वता र ‘जनताको बहुदलीय जनवाद’ (जबज) को जीवन्त अभ्यास भएको टिप्पणी गर्नुभएको छ।

उहाँले जारी गर्नुभएको बधाइ सन्देशमा महाधिवेशनमा विचार, निष्ठा र पद्धतिप्रति प्रतिबद्ध रहँदै प्रतिस्पर्धामा सहभागी भएका सम्पूर्ण नेता तथा कार्यकर्ताप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। “लोकतन्त्रमा प्रतिस्पर्धा स्वाभाविक र आवश्यक प्रक्रिया हो, जसले संस्थालाई अझ सुदृढ र जीवन्त बनाउँछ,” सन्देशमा उल्लेख छ।

पूर्वराष्ट्रपति भण्डारीले निर्वाचित नयाँ नेतृत्वले पार्टीले अवलम्बन गरेको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ को मार्गदर्शनमा आन्तरिक लोकतन्त्र, सामूहिक नेतृत्व र सङ्गठनात्मक एकतालाई थप सुदृढ गर्दै पार्टीलाई अघि बढाउने विश्वास व्यक्त गर्नुभएको छ।