चितवनमा रविले भने- शरीरमा विष बोकेर बाँचेको छु, जेनजीको रगत खेर जान दिन्नँ

168 Shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई “विष भएका सर्पहरूले डसेको” भन्दै त्यही विष बोकेर अहिले पनि लडिरहेको टिप्पणी गर्नुभएको छ।

चितवनको चौबिसकोटीमा आयोजित सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो अभिव्यक्ति दिनुभएको हो। शुक्रबार मात्रै भैरहवा कारागारबाट रिहा भएका लामिछानेको यो रिहाइपछिको पहिलो सार्वजनिक सभा थियो। सम्बोधनका क्रममा उहाँले आफूमाथि अन्याय भएको दोहोर्‍याउनुभयो।

उहाँले भन्नुभयो, “आज पर्यन्त अन्यायका विरुद्ध चितवनबासीले यहीँबाट आवाज उठाउँदै आउनुभएको छ। यो गुन तपाईंहरूले मलाई मात्र होइन, देशका लागि लगाउनुभएको हो। म त्यो गुनको संवाहक बनेर देशलाई तिर्नेछु। मलाई डस्ने सर्पहरू मरे कि मरेनन् थाहा भएन, तर उनीहरूले मेरो शरीरमा दिएको विष बोकेर म आज पनि बाँचिरहेको छु। त्यो विष अझै बाँकी छ र म यही विषय लिएर लड्छु।”

सभापति लामिछानेले जेनजी आन्दोलनको रगतको थोपा खेर जान नदिने प्रतिबद्धता पनि जनाउनुभयो। साथै उहाँले पुराना पुस्ताका नेताहरूप्रति संकेत गर्दै उनीहरूले देशलाई दिएको पीडाको तुलनामा आफूले भोगेको पीडा सामान्य भएको टिप्पणी गर्नुभयो।

“मलाई अन्याय गर्‍यो, थुनेर दुख दियो भनेर के चित्त दुखाउनु ? सिंगो देशलाई नै दुख दिएका छन्। देश र पुस्तालाई दिएको दुखको हिसाब मिलाउन बाँकी छ,” उहाँले भन्नुभयो।

उहाँले बदला लिनु आवश्यक नरहेको उल्लेख गर्दै असली संघर्ष गरिबी, अशिक्षा, बेरोजगारी र पीडाविरुद्ध हुनुपर्ने धारणा राख्नुभयो। “हामी लड्नुपर्ने उनीहरूसँग होइन, जनताले अपदस्त गरिसकेकाहरूसँग लडेर के हुन्छ ? हामी त भोक, शोक, जमिन खोसिने पीडा, अशिक्षा र बेरोजगारीविरुद्ध लड्ने हो,” उहाँको भनाइ थियो।

सभापति लामिछानेले जेनजी पुस्ताले गरेको आन्दोलनको प्रशंसा गर्दै उनीहरूलाई सलाम पनि व्यक्त गर्नुभयो। “हामीले त चुनाव कुरेका थियौँ, तपाईंहरूले चुनाव कुर्नुभएन, बजाइदिनुभयो,” उहाँले भन्नुभयो