चितवन । उज्यालो नेपाल पार्टीको पहिलो जिल्ला भेला आज चितवनमा आयोजना हुँदैछ।
भरतपुरको केन्द्रीय बस टर्मिनल नजिकै रहेको एक होटलमा हुने भेलालाई प्रमुख अतिथिका रूपमा ऊर्जा तथा जलस्रोत, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। मन्त्री घिसिङ शुक्रबार नै चितवन आइपुगेका छन्।
भेलालाई पार्टीका केन्द्रीय सदस्यहरू सिता पाण्डे, रिमा विश्वकर्मा तथा बागमती प्रदेश संयोजक प्रविन तामाङले पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
उज्यालो नेपाल पार्टी चितवनका अगुवा भविश्वर चापागाईंका अनुसार जिल्लाका विभिन्न क्षेत्रबाट नेता–कार्यकर्ताहरू भेलामा सहभागी हुनेछन्। भेलाले तदर्थ समिति गठन गर्ने र त्यसपछि जिल्ला समितिलाई औपचारिक रूप दिने तयारी रहेको उहाँले जानकारी दिनुभयो।
उहाँका अनुसार पार्टीले चितवनका भरतपुर महानगरपालिकासहित सबै सातवटै स्थानीय तहमा संगठन विस्तार गर्दै कमिटी गठन गर्ने योजना अघि बढाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया