साफ महिला क्लब च्याम्पियनसिपको उपाधिका लागि एपीएफ र इस्ट बंगाल खेल्दै

239 Shares

काठमाडौं । पहिलोपटक आयोजना भइरहेको साफ महिला क्लब च्याम्पियनसिपको उपाधिका लागि आज नेपालकी लिग च्याम्पियन टोली एपीएफ क्लब र भारतको लिग च्याम्पियन इस्ट बंगालबीच प्रतिस्पर्धा हुँदैछ।

फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ। दक्षिण एसियाली फुटबल संघ (साफ) ले महिला फुटबल विकासका लागि पहिलोपटक क्लबस्तरीय प्रतियोगिता आयोजना गरेको हो, जसमा नेपाल र भारतसहित दक्षिण एसियाका पाँच राष्ट्रका क्लबहरूले सहभागिता जनाएका थिए। प्रतियोगितामा एपीएफ र इस्ट बंगाल शीर्ष दुई स्थानमा रहँदै फाइनलमा प्रवेश गरेका हुन्।

एपीएफकी कप्तान अनिता बस्नेतले क्लबस्तरीय भए पनि राष्ट्रकै प्रतिनिधित्व भइरहेको अनुभूति रहेको बताउँदै उपाधि जित्न पूर्ण तयारीका साथ मैदान उत्रिने बताएकी छन्। उनले भनिन्, “हामी फाइनलका लागि तयार छौँ। पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित खेल्दैछौँ।”

नेपालको महिला टोलीले पटक–पटक फाइनल खेले पनि उपाधि जित्न नसकेको अवस्थामा एपीएफ क्लब त्यो उपाधि खडेरी तोड्न चाहन्छ। यद्यपि घरेलु मैदानमा खेलिए पनि एपीएफमा सावित्रा भण्डारी, प्रिती राई र एन्जिला तुम्बापो सुब्बा जस्ता प्रमुख खेलाडी छैनन् भने सबिता राना मगर चोटका कारण बाहिर छिन्।

मुख्य प्रशिक्षक जिवेश कुमार पाण्डेले प्रमुख खेलाडी नहुँदा पनि उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिने बताएका छन्। यता इस्ट बंगालका प्रशिक्षक एन्टोनीले पनि फाइनलमा गुमाउने केही नभएकाले जितकै लागि खेल्ने बताएका छन्।

एपीएफ र इस्ट बंगाल दुवै टोली प्रतियोगिताभर अपराजित रहँदै फाइनलमा पुगेका छन्। दुवैले हालसम्म एक पनि गोल कन्सिड गरेका छैनन्। इस्ट बंगालले लिग चरणमा १३ गोल गर्दा एपीएफले ५ गोल गरेको छ।

फाइनलअघि दुवै टोलीबीच भएको अन्तिम लिग खेल गोलरहित बराबरीमा सकिएको थियो। समग्र प्रदर्शनमा इस्ट बंगाल बलियो देखिए पनि एपीएफलाई घरेलु मैदान र दर्शकको साथ बलियो पक्षका रूपमा हेरिएको छ।