काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (शनिबार) चितवनमा आयोजना हुने पार्टी कार्यक्रममा सहभागी हुँदै हुनुहुन्छ।
रास्वपाका अनुसार भरतपुर महानगरपालिकाको चौबिसकोटीमा आयोजना हुने कार्यक्रममा सभापति लामिछाने सहभागी हुनेछन्। पार्टीका प्रवक्ता मनिष झाले सभापति लामिछानेले बिहान ११ बजे सुरु हुने कार्यक्रमलाई विशेष तथा छोटो सम्बोधन गर्ने जानकारी दिनुभयो।
प्रवक्ता झाका अनुसार सभापति लामिछाने दिउँसो काठमाडौं फर्किएपछि जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूलाई भेट्ने कार्यक्रमको सुरुआत गर्ने कार्यक्रम पनि तय गरिएको छ।
यसैबीच, प्रवक्ता झाले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै शनिबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीस्थित घण्टी घरमा सभापति लामिछानेको स्वागत कार्यक्रम आयोजना गरिएको जनाउनुभएको छ।
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका लामिछाने शुक्रबार बिगो रकम बुझाएर शर्तसहित रिहा भएका हुन्। उच्च अदालत बुटवलका न्यायाधीशहरू बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया