काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आज (शनिबार) काठमाडौंमा बागमती प्रदेशस्तरीय एकता सन्देश सभा आयोजना गर्दैछ। सभा काठमाडौंको भृकुटीमण्डपमा हुने पार्टीले जनाएको छ।
सभाका लागि बिहान ११ बजेदेखि काठमाडौं उपत्यका तथा आसपासका जिल्लाबाट नेता–कार्यकर्ताहरू विभिन्न स्थानबाट र्यालीसहित भृकुटीमण्डप पुग्ने कार्यक्रम छ। पूर्वनिर्धारित कार्यतालिकाअनुसार काठमाडौंको पश्चिम भेग, चितवन, धादिङ, मकवानपुर र ललितपुरका नेता–कार्यकर्ताहरू सुन्धाराबाट र्याली सुरु गर्नेछन्।
त्यस्तै, रत्नपार्कबाट तारकेश्वर र टोखा नगरपालिका तथा नुवाकोट र रसुवाबाट र्याली निकालिने छ। बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी–मनोहरा, काठमाडौं क्षेत्र नम्बर ३, ४ र ५ का नेता–कार्यकर्ताहरूको र्याली डिल्लीबजार (चारखाल) बाट सुरु हुनेछ।
यसैगरी काठमाडौं–१ र २, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली र रामेछापका नेता–कार्यकर्ताहरूको र्याली बबरमहलबाट सुरु हुने बताइएको छ।
मध्यान्ह १२ बजेदेखि सुरु हुने सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। कार्यक्रम करिब दुई घण्टाभित्र सम्पन्न हुने पार्टीले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया